काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै बरु मर्न तयार हुने तर आन्दोलनबाट पछि नहट्ने बताएका छन् ।
उनले मंगलबारको आन्दोलन गणतन्त्रप्रतिको ‘टेष्ट’ भन्दै यो भन्दा कडा आन्दोलन गर्ने बताए ।
निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले भद्रकाली नजिक रोकेपछि अध्यक्ष लिङ्देनले आन्दोलन नरोकिने बताए । साथै उनले प्रदर्शनकारीलाई अघि बढ्न दिन सुरक्षाकर्मीलाई बाटो छोड्न आग्रह गरेका थिए ।
उनले आफ्ना कार्यकर्तालाई सिंहदरबारतर्फ अघि बढ्न निर्देशन दिएसँगै राप्रपा कार्यकर्ताहरू अघि बढ्न खोज्दो प्रहरीले रोकेपछि प्रदर्शनकारीले गृहमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
त्यसक्रममा अध्यक्ष लिङ्देनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत मागेका छन् । उनले भने, ‘म गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौँ ।
अब हामी गृहमन्त्रीको राजीनामा माग्छौँ । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ ।’ उनले भ्रष्टहरुलाई कति दिन हेलमेट लगाएर सुरक्षा दिनुहुन्छ भन्दै प्रहरीलाई प्रश्न समेत गरे ।