भारतको राजधानी दिल्लीका मुख्यमन्त्री केजरीवाललाई किन पक्राउ गरियो ?


९ चैत्र २०८०, शुक्रबार ०८:०४ मा प्रकाशित

काठमाडौं । भारतको राजधानी दिल्लीका मुख्यमन्त्री तथा आम आद्‌मी पार्टी (आप)का अध्यक्ष अरविन्द केजरीवाल पक्राउ परेका छन्। भारतको वित्तीय अपराध अनुसन्धान निकायले केजरीवाललाई पक्राउ गरेको उनको पार्टीले जनाएको छ ।

कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालयले बिहीवार साँझ केजरीवालको निवासमा खानतलासी गरी उनलाई पक्राउ गरेको हो। भारतको मुख्य विपक्षी कांग्रेसलगायतले घटनाको विरोध गरेका छन्। आपले आफ्ना अध्यक्ष निर्दोष रहेको र राजनीतिक उद्देश्यले केजरीवाललाई पक्राउ गरिएको बताएको छ।

भारतमा आगामी एप्रिल १९ तारिकदेखि लोकसभा निर्वाचन हुँदै छ। त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी पुनः विजयी हुने धेरैको आकलन छ। दिल्ली सरकारको मदिरा बिक्री नीतिसँग जोडिएको भ्रष्टाचारको आरोपका सम्बन्धमा छानबिन गर्न उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सन् २०२२ मा केजरीवाल सरकारले लागु गरेको उक्त नीतिले निजी क्षेत्रका थोक विक्रेतालाई अनुचित लाभ दिएको आरोप लागेको छ। आप समर्थकहरूले भने यस नीतिले सरकारी एकाधिकार तोडेको बताउँदै आएका छन्। निर्देशनालयले यस विषयमा सोधपुछका लागि केजरीवाललाई बारम्बार बोलाएकामा उनले धेरै पटक त्यसको बेवास्ता गरेका थिए।

यसै मुद्दाका सम्बन्धमा उनको पार्टीका दुई नेता सञ्जय सिंह र मनीष सिसोडियालाई गत वर्ष पक्राउ गरिएको थियो। केजरीवाल पक्राउ परेपछि भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसकी नेत्री प्रियङ्का गान्धीले केजरीवाल पक्राउ परेको घटना गलत तथा असंवैधानिक भएको टिप्पणी गरेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here