काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार गर्नै नसकिने प्रष्टयाएका हुन् । सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरूमा लगानी गर्न नदिने चेतावनी पनि दिए । उनले सञ्चार माध्यमहरूलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए । केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चार माध्यमबाट आउन थालेकोमा मन्त्री बाँस्कोटाको आपत्ति छ ।
मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुने पनि बताए । उनले सञ्चार माध्यमहरूको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागिपरेको पनि बताए ।





