काठमाडौं । सत्तापक्षको आग्रहमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक आउँदो साउन ८ गतेसम्मका लागि स्थगित गरेका छन् ।
प्रतिपक्ष दल नेपाली कांग्रेस तथा राजपा नेपालले संसदको नियमित कार्यसूचीलाई थाती राखेर सोमबारको बैठकमा बाढी–पहिरोका कारण भएको क्षति तथा त्यसमा भइरहेका प्रयासबारे छलफल गर्न माग गरेका थिए । कांग्रेस र राजपाले संसदमा बाढी–पहिरोबारे छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । तर, सत्तापक्ष नेकपा भने सो प्रस्तावमा छलफल गर्न सहमत भएन र सभामुख महराले बैठक साउन ८ गतेसम्मका लागि स्थगित गरेका हुन् ।
यता, कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखले फट्याइँ गरेको प्रतिक्रिया दिएका छन् ।उनले विपद्का बेला सबै एक हुनुपर्नेबेलामा त्यसका लागि सत्तापक्ष इच्छुक नदेखिएको आरोप लगाए । सत्तापक्षका कतिपय सांसदहरु पनि लामो समय प्रतिनिधिसभा बैठक स्थगित गरिएकोप्रति असन्तुष्ट छन् ।
बैठक स्थगितसम्बन्धी सूचनामा भने ‘देशका विभिन्न भागमा आएको बाढी–पहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले बैठक स्थगन’ गर्नुपरेको उल्लेख गरिएको छ । यसअघि, यही असार २४ गतेको बैठकमा कांग्रेस र राजपाले नेत्रविक्रम चन्द नेतृत्वको समूहका नेता कुमार पौडेलको ‘इन्काउन्टर’का सम्बन्धमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै अवरोध गरेका थिए ।
संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपाले यसअघिका दुई बैठक अवरोध गरेका थिए ।





