बाढी तथा डुवानबाट रौतहटमा ५ को मृत्यु, एकजना वेपत्ता


३० असार २०७६, सोमबार १२:२३ मा प्रकाशित

रौतहट । अविरल वर्षापछि बाढी र डुबानबाट रौतहटमा ५ जनाको मृत्यु भएको छ । यस्तै एकजना वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिएका छन् ।

कार्कीका अनुसार बाढी र डुवानमा परी दर्जन बढी घाइते भएको डिएपी कार्कीले बताए । अविरल वर्षाका कारण डुबेको जिल्ला सदरमुकाम गौरको अवस्था सामान्य भइसकेको छ । यद्यपि ग्रामिण क्षेत्रको अवस्था अझै कष्टकर रहेको छ । जिल्लाका प्रायः सबै सडक सञ्जाल बिग्रिएकाले गाउँगाउँसम्म राहत सामग्री लैजान कठीन भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

जिल्लामा सबभन्दा बढी डुबानको समस्या रहेको इशनाथ नगरपालिका बनजरहामा तीनवटब रबडबोट मार्फत राहत पठाउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए । बाढीबाट रौतहटमा एकहजार घरधुरीका झण्डै २५ हजार मानिस विस्थापित बनेको प्रारम्भिक अनुमान गरिएको जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी किरण कुमार थापाले जानकारी दिए । बाढीले गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बमनहर, राजपुर बंकुल, कटहरिया जंगलसैया, सडकखण्डमा क्षति पुर्याएको थापाले जानकारी दिए ।

यसैबीच प्रभावित क्षेत्रको निरीक्षणमा पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रभु साह पुगेका छन् । साह सडक डिभिजन प्रमुख दरोगा साह, जल उत्पन्न तथा नदी नियन्त्रण कार्यालयका प्रमुख राजकुमार श्रीवास्तलगायतलाई साथमा लिएर प्रभावित क्षेत्रमा पुगेका हुन् । बर्षा र बाढीले जिल्लाको पूर्वीभेग स्थित बागमती र पश्चिममा लालबकैया नदीको झण्डै एकदर्जन स्थानमा बाँधमा क्षती पुगेको छ ।

त्यसैगरी कटहरिया,मौलापुर,गर्जाघाट स्थित रहेको लालबकैया नदीको पुलको दुबै किनाराको बाटो बगेको छ ।निरीक्षणको क्रममा क्षतिग्रस्त लालबकैया र बागमती नदीको बाँध र सडक तत्काल मर्मत गराउन सांसद साहले दुबैजना प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here