नेकपा(एमाले)ले प्रचार तथा प्रकाश विभागमा ३ सदस्यलाई मनोनित गरेको छ ।
बिहीवार केन्द्रिय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा ३ जनालाई मनोनित गर्ने निर्णय गरेको हो ।
महासचिव शंकर पोखरेलले काठमाडौंका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र आचार्यलाई पार्टीको प्रचार तथा प्रकाश विभागको सदस्यमा मनोनित गरिएको जानकारी दिनुभयो ।
बैठकले आगामी फागुन ८, ९ र १० गते बस्ने केन्द्रिय कमिटीको बैठकका लागि तर्जुमा गर्ने एजेण्डाको सम्बन्धमा पनि छलफल गरेको बताउनु भयो ।
केन्द्रीय कमिटी बैठकमा वर्तमान राजनीतिक अवस्थाको समिक्षा, सांगठनिक प्रतिवेदन र संगठन सुदृढिकरण सम्बन्धी विशेष कार्ययोजना राख्ने तय भएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी पार्टीलाई अझ व्यवस्थित बनाउने ढाँचाको सम्बन्धमा छलफल गर्ने कुरालाई पनि एजेण्डा बनाइने उहाँको भनाई छ ।
महासचिव पोखरेलले गठबन्धन सरकार राष्ट्रिय हित, जनसरोकार र सुशासनको सम्बन्धमा गम्भिर विचलन देखापरेको भन्दै सरकारलाई दबाब दिने र जनपरिचालन गर्ने विषय पनि केन्द्रिय कमिटी बैठकको एजेण्डा बन्ने बताउनु भयो ।
मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि दृष्टिकोण तय गर्ने, पार्टीमा प्रवेश गर्नेहरु र अधिवेशनबाट बिदा भएकाहरुको व्यवसथपन गर्ने र पार्टीको केन्द्रिय कार्यालय भवन बनाउन पार्टी सदस्यहरुबाट न्युनतम सय रुपैयाँ उठाउने प्रश्ताव पनि केन्द्रिय कमिटी बैठकमा एजेण्डाको रुपमा प्रश्तुत गरिने उहाँले बताउनु भयो ।