तानसेन । पाल्पाको तिनाउ गाउँपालिका वडा नं ६ शिखरडाँडामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। मृतक ९ जनाको सनाखत भएको छ।
तिनाउ गाउँपालिकाको डुम्म्रेबाट यात्रुहरू बोकेर वडा नं ६ शिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नं को जिप दुर्घटना भएको हो। जिप सडकबाट तीन सय मिटर तल खसेको थियो।
मंगलवार साँझ पौने ५ बजे भएको उक्त जिप दुर्घटनामा परी १० जनाको ज्यान गएको थियो भने १७ जना घाइते भएका थिए। मृत्यु हुनेहरूमा तिनाउ गाउँपालिका वडा नं ६ बस्ने ६० वर्षीया यमकुमारी पन्थ, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।
त्यसैगरी मृत्यु हुनेहरूमा बुटवल उपमहानगरपालिका वडा नं १४ तामनगर बस्ने ७० वर्षीय चन्द्रबहादुर रणपाल र ६० वर्षीया तुना रणपाल छन्।
त्यस्तै, पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं १ ६१ वर्षीया दिलकुमारी सुनार, ६६ वर्षीया बिष्णुकला कामी, तिनाउ वडा नं ६ बस्ने २० वर्षीय गिता सुनारको उपचारको क्रममा मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाएका मध्ये एक जनाको सनाखत हुन बाँकी छ।