चैतभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्छौंः मुख्यमन्त्री पाण्डे


१ फाल्गुन २०८०, मंगलवार १८:२७ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत महिनाभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताउनुभएको छ ।

मंगलवार पोखरामा भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले पोखरालाई मुलुककै पर्यटकिय राजधानी घोषणा गर्ने समय तालिका दिएको भन्दै आगामी चैत महिनाभित्र घोषणा गर्ने तयारीमा गण्डकी प्रदेश सरकार लागेको बताउनु भयो ।

उहाँले सर्वोच्च अदालतले फेवातालको सीमांकन, नक्शांकन र सौन्दर्यकरण गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशनात्मक रुपमा दिएको आदेश कार्यान्यन गर्ने बताउनु भयो । उहाँले सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न मुख्यमन्त्रीको अध्यक्षतामा सहजिकरण गर्ने समिति बनाएको पनि बताउनु भयो ।

उहाँले अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको काम संघ सरकार अन्तर्गत रहेको भन्दै प्रदेश सरकारले के गर्नसक्छ ? भन्ने विषयमा छलफल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पर्यटकीय राजधानी घोषणा गर्ने कुरा समय तालिका दिएका छौं । अबको चैत महिना भित्रमा हामी पर्यटकीय राजधानीको रुपमा घोषणा गर्छौं । फेवातालको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न सहजिकरण गर्ने समिति मुख्यमन्त्रीको अध्यक्षतामा बनाएको छु । जे सर्वोच्चको आदेश छ । त्यसलाई कार्यान्वयन गर्छौं । अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनको काम संघ सरकार अन्तर्गत पर्छ । तर पोखराको हकमा चीन र भारतबाट आउने नेतृत्वलाई प्रदेश सरकारले संधै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सहजिकरण गरिदिनुस् । पर्यटकीय पदमार्ग भएको क्षेत्रमा सडक मार्गको लागि बजेट माग गर्न नपाउने प्रदेश सरकारले नीति लिएको छ । त्यसको लागि बजेट विनियोजन नगर्ने नीति पनि लिएका छौं । पदमार्गमा बाटो खन्न नहुने दायित्व आम जनतासमेतको हो । बाटो खनेका पर्यटकहरु आउँदैनन भन्नेकुरा बुझ्नुपर्छ । सरकारले पदमार्गमा बाटो खन्न डोजर चलाउने कुरालाई प्रोत्साहित गर्दैन ।’

उहाँले गण्डकी प्रदेश सरकारले पर्यटकीय पदमार्गको संरक्षणको लागि पर्यटकीय पदमार्ग भएको क्षेत्रमा सडक मार्गको लागि बजेट माग गर्न नपाउने र बजेट विनियोजन नगर्ने नीति लिएको बताउनु भयो । उहाँले पदमार्गमा बाटोको संरक्षण गर्ने दायित्व आम जनताको भएको भन्दै सरकारले पदमार्गमा बाटो खन्न डोजर चलाउने कुरालाई प्रोत्साहित नगर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here