मेची आँखा अस्पतालमा अति विशिष्टकृत सेवाहरु थप, कुन-कुन सेवा थपिए


२७ माघ २०८०, शनिबार ०८:२० मा प्रकाशित

झापा । नेपालमै उत्कृष्टमध्येको एकमा पर्न सफल मेची आँखा अस्पतालले अति विशिष्टकृत सेवाहरु थप गरेको छ ।

झापाको बिर्तामोड –३ सैनिकमोडमा रहेको मेची आँखा अस्पतालले २७ औं वार्षिकोत्सवका अवसरमा अति विशिष्टकृत सेवाहरु थप गरेको हो ।

विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार सन् २०५० सम्ममा विश्वको कुल जनसंख्याको लगभग ५० प्रतिशत अर्थात ५ अर्ब जनसंख्यामा दृष्टिदोष हुने भएकाले त्यस समस्यालाई प्रभावकारी रुपले सम्बोधन गर्न अहिलेदेखि नै आवश्यक तयारी गरिएको अस्पतालले जनाएको छ ।

समयसापेक्ष पूर्वतयारीअनुरुप अस्पतालले कोर्निया तथा रिफ्राक्टीभ सर्जरी, मायोपिया क्लिनिक, रेटीना, अकुलोप्लाष्टी, अर्थोअप्टीक जस्ता सेवाहरुको लागि अत्याधुनिक उपकरणहरु जस्तै Pentacam, Digital Imaging System, Multi–spot Laser, OCT machine, Myopia Master, Endoscopic DCR set आदि जस्ता अत्याधुनिक उपकरणहरु खरिद गर्नुका साथै पब्लिक प्राईभेट पार्टनरसिप अनुसार मातृका आँखा केन्द्रसंगको सहकार्यमा लेजर रिफ्राक्टीभ सर्जरी युनिटको पनि स्थापना गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले जानकारी दिए ।

अस्पतालले सन् २०२३ मा बहिरङ्ग सेवाअन्तर्गत १ लाख ९७ हजार ८७२ तथा आउटरिच (शिविर) कार्यक्रमअन्तर्गत ९७ हजार २५ गरी जम्मा २ लाख ७६ हजार ८९३ जना बिरामीहरूको आँखा परीक्षण गरेको छ । यो संख्या सन् २०२२ को तुलनामा २०.३६ प्रतिशत बढी हो ।

त्यसैगरी शल्यक्रिया सेवातर्फ ३४ हजार ५४५ र बाह्य कार्यक्रमअन्तर्गत १ हजार ८१३ गरी जम्मा ३६ हजार ३५८ जना विरामीहरुको आँखाको शल्यक्रिया गर्न अस्पतालको टिम सफल भएको मेडिकल डाइरेक्टर डा.जोशीद्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । जसमा २१ हजार ९५७ जनाको मोतिया विन्दुका अप्रेसन भएको छ ।

अस्पतालमा अतिविशिष्टकृत सेवाहरूतर्फ रेटिनाको शल्यक्रिया ७ हजार ४०२, कोर्निया २ हजार ८०५, अकुलोप्लास्टिक ३ हजार ५६७ र अन्य शल्यक्रिया ६ सय २७ वटा भएको छ ।

नेपाल सरकारसँगको सम्झौताअनुरूप स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत एक वर्षभित्र ५१ हजार ९१५ जना बिरामीहरूले आँखा परीक्षण गराएका छन् भने स्वास्थ्य बिमा कार्यक्रममार्फत ५ जार ६६१ जनाले आँखाको शल्यक्रिया गराएको जानकारी दिइएको छ ।

त्यसैगरी स्क्रिनिङ क्याम्पबाट रेफर भएर आएका विपन्न, बेवारिसे र असहाय ४ हजार ७५६ जना बिरामीलाई विभिन्न सेवाहरूबाट गत वर्ष ५३ लाख ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सुविधा अस्पतालले प्रदान गरेको छ ।अधिकतम बिरामीहरूलाई सहज उपचार सेवा प्रदान गर्न विभिन्न स्थानमा स्थापना गरिएको शाखाहरूमा भौतिक पूर्वाधार निर्माण गर्ने कामलाई निरन्तरता दिदै आएको मेची आँखा अस्पतालले भद्रपुर आँखा उपचार केन्द्रमा अन्तरंग विभागअन्तर्गत बिरामी वार्ड भवन निर्माण गरेको छ ।

वीपी कोईराला लायन्स सेन्टर फर अफ्थाल्मिक स्टडिजसँगको सहकार्यमा अतिविशिष्टकृत सेवाको लागि आवश्यक दक्ष जनशक्ति विकास गर्नको लागि फेलोसिप कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको र इन्टेरियर सेग्मेन्टमा १८ जना, सर्जिकल रेटिनामा ८ जना, मेडिकल रेटिनामा २ जना र अकुलोप्लास्टिकमा २ जना गरि ३० जना नेत्र विशेषज्ञहरूले तालिम लिइसकेको अस्पतालका मेडिकल डाइरेक्टर डा. जोशीले जानकारी दिए ।

मेची आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा आयोजित वार्षिकोत्सवमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा टिचिङ हस्पिटल विपी केएलसीओस आँखा विभाग प्रमुख प्राध्यापक डाक्टर मिनु चौधरी, नेपाल आखा बैंकका निर्देशक शंख तोयना, अस्पतालसँग सहकार्य गर्ने राष्ट्रिय बिमा बोर्डका एक जना प्रतिनिधि र लेलिम लिम्बूलाई सम्मान गरिएको छ ।

त्यसैगरी मेची आँखा अस्पतालमा कार्यरत कर्मचारीहरू मध्ये १० जनालाई वर्ष उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरिएको छ । सम्मानित हुने कर्मचारीहरूमा डाक्टर इशा विष्ट, कविता कार्की कडरिया, श्रवण सरदार, मन्जुरी राई, रुद्र मगर, दुर्गेश पासवान, देवी राई, शर्मिला श्रेष्ठ, सुस्मिता चौलागाईँ र कमला राजवंशी रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री बस्नेत , कोशी प्रदेश सांसद एकराज कार्की , नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउकुमार थेवे, बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी ,सम्मानित मिनु चौधरी, डाक्टर किशोर प्रधान, सामाजिक संघ संस्थाको तर्फबाट लोकबन्धु कन्दङवा,बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा आँखा दान गर्नेहरूलाई मरणोपरान्त सम्मान गरिएको छ । दिवंगत भएका सपना भट्टराई, विष्णुप्रसाद रिजाल, रामबहादुर गुरुङ, तिलरुपा चिमरिया, रामप्रसाद सापकोटा, योगमाया खनाल र खडानन्द वाग्लेका परिवारलाई सम्मानपत्र प्रदान गरिएको छ ।

त्यस्तै भद्रपुर सेवाकेन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र घोषणा गरिएको छ । टिचिङ अस्पताल र मेची आँखा अस्पतालको सहकार्यमा सञ्चालित अति विशिष्टकृत विधामा सहभागी बन्ने र दक्षता हासिल गर्ने डाक्टर सतिश तिम्सिना, डाक्टर अशेष कोइराला र विपिन विष्टलाई प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक समिति सदस्य चण्डीराज ढकालले गरेका थिए भने सञ्चालन सचिव गणेश पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here