धरपकड शैलीमा उद्योगी चौधरीलाई पक्राउ गर्नु गलतः व्यवसायीहरु


१९ माघ २०८०, शुक्रबार १७:१९ मा प्रकाशित

निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी अरुण चौधरीलाई पक्राउ गरिएको भन्दै नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ ।

परिसंघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी चौधरीलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको हो ।

परिसंघले चौधरी नेपालका एक प्रतिष्ठित उद्यमी भएको र देश छाडेर नभाग्ने भएपनि सरकारले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरिनु निजी क्षेत्र माथिको प्रहार भएको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले व्यवसायीलाई शंकाकै भरमा पक्राउ गर्नु न्यायसंगत नभएको बताउनु भयो ।

उहाँले उद्योगपति चौधरी देशबाहिर भागेर जाने अवस्था समेत नरहेको अवस्थामा हठात पक्राउ गर्नु गलत भएको उल्लेख गर्नुभयो ।

उहाँले प्रहरीले चौधरीलाई बोलाएर सोधपुछ गर्न सकिने अवस्थामा बिना कुनै सूचना पक्राउ गरिएकोले प्रक्रियामा नै परिसंघको आपत्ति रहेको बताउनु भयो ।

उहाँले सरकार चौधरीलाई पक्राउ गरेर एक प्रतिष्ठित व्यवसायीको मानमर्दन गरेको बताउनु भयो ।

अध्यक्ष अग्रवालले सूचना दिएर बोलाएर सोधपुछ पछि दोषी देखिए मात्र पक्राउ गर्नुपर्नेमा आफ्नो कुरा राख्ने अवसर समेत नदिई प्रकाउ गर्नु गलत भएको बताउनु भयो ।

अग्रवालले प्रहरीले व्यवसायीमाथि अनुसन्धान गर्न पाएपनि धरपकड गर्न नहुने बताउनु भयो ।

अध्यक्ष अग्रवालले दोषि सावित नभएसम्म व्यवसायीलाई थुनामा राख्न नहुने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here