काठमाडौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताउनुभएको छ ।
ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन देश, देशको माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने सन्तनेता भट्टराई सधैँ प्रेरणाको श्रोत भएको बताउनु भयो ।
उहाँले स्वर्गीय भट्टराई नेपाली राजनीति, देश र जनताका अतुलनीय नेता भएको भन्दै उहाँ सँगको सामिप्यतामा आफूले पनि राजनीतिक यात्रा गर्न पाएको स्मरण गर्नुभयो । सरकारले खेल संरचना निर्माण र खेलाडीलाई थप सुविधा उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
उहाँले नेपाली खेलाडीहरूले देशको शिर विश्वमा उच्च बनाएको बताउनु भयो । उहाँले सबै खेलाडीलाई सफलताको शुभकामना दिँदै खेल प्रतियोगिताको अवधिमा खेल भावनाका साथ अनुशासित र मर्यादित हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सन्तनेता कृष्णप्रसाद भट्टराईलाई समर्पण, त्याग, सत्याग्रहको मूर्ति, देश जनताप्रति निष्ठाभाव, समर्पण भावले राजनीतिमा लाग्ने राजनीतिकर्मीले कसरी आफ्नो जीवनलाई अघि बढाउँछ भन्नेकुराको उपमा, एउटा प्रेरणा र प्रतिकको रुपमा सिंगो आफ्नो जीवनलाई देश र जनताकाप्रति अर्पण गरेर आज आफ्नो जीवनपर्यन्त पनि ति सबै गुणहरुबाट राजनीति गर्नेहरुलाई खेलाडीहरुलाई, खेलप्रेमीहरुलाई विभिन्न व्यवसाय विधामा जीवन बिताउनेहरुलाई सबैखालको प्रेरणा दिइराख्ने अद्वितीय, अतुलनीय व्यक्तित्व हुनुहुन्थ्यो ।’
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टीम सहभागी रहेका छन् ।