संघीय संसद सचिवालयले प्रतिनिधि सभाको बैठक मासिक सम्भावित कार्यतालिका बनाएर सञ्चालन गर्ने तयारी गरेसँगै दलहरुले कार्यतालिका प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्ने आशंका व्यक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसअनुसार आगामी माघ २२ गते संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
केही दिन अघिदेखि सभामुख देवराज घिमिरेले पनि समितिका सभापतिहरु र दलका प्रमुख सचेतकहरुसँग औपचारिक, अनौपचारिक रुपमा छलफल गरिरहनुभएको छ ।
सभामुख घिमिरेले आगामी संसदको अधिवेशनमा कार्यतालिका नै बनाएर प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने तयारी गर्नुभएको छ ।
उहाँले सचिवालयलाई सम्भावित कार्यतालिका बनाउन निर्देशन दिनुभएको छ भने सम्भावित कार्यतालिकाको मस्यौदा सार्वजनिक समेत भइसकेको छ ।
सभामुखले यस विषयमा दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न थालेसँगै यसको प्रभावकारी कार्यान्वयन हुनेमा दलहरुले आशंका व्यक्त गरेका हुन् ।
दलहरुले पूर्वनिर्धारित कार्यतालिका अनुरुप एक दिन मात्रै बैठक सञ्चालन गर्न नसके पूरै कार्यतालिका नै प्रभावित हुने भन्दै कार्यतालिका अनुरुप बैठक सञ्चालन गर्नेकुरा जटिल हुनसक्ने तर्क राखेका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सचिवालयले सभामुखको निर्देशन बमोजिम सम्भावित कार्यतालिकाको मस्यौदा तयार गरेको बताउनु भयो ।