राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत मतदान जारी


११ माघ २०८०, बिहीबार ११:३४ मा प्रकाशित

बिराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत मतदान जारी छ । बिहान ९ बजेदेखि सातै प्रदेशमा शुरू भएको मतदान अहिले जारी रहेको हो । मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।

फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान हुँदैछ । एक पद भने राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता छन् । जसमध्ये कोशीमा कुल ३६७ मतदाता छन् । मधेशमा ३७४ र वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ ।

राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ ।

निर्वाचनमा हाल कायम प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ ।

हाल कायमा प्रदेश सभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका छन् ।

मतदान सकिएलगत्तै आजै मत गणना शुरू हुनेछ । आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने आयोगको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here