योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुनेगरी योजना निर्माण गर्ने आश गर्न नसकिने एमाले उपाध्यक्ष पौडेलको भनाइ


८ माघ २०८०, सोमबार १२:१२ मा प्रकाशित

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन हुनेगरी योजना निर्माण गर्ने आश गर्न नसकिने बताउनुभएको छ ।

उपाध्यक्ष पौडेलले योजना आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने,विगतका अनुभवहरुको जगमा उभिएर योजनावद्ध प्रयासलाई सार्थक रुपमा गति दिनेगरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताउनुभएको हो ।

उहाँले वर्तमान सरकारको मातहतमा बनेको योजना आयोगले अघिल्लो सरकारले बनाएको १५ औं योजनालाई उपेक्षा गर्नेगरी योजना निर्माण गरिरहेको आरोप लगाउनु भयो । उपाध्यक्ष पौडेलले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै योजना आयोग १६ औं योजनाको निर्माणमा अलमलिरहेको बताउनु भयो ।

उहाँले १६ औं योजना निर्माण गर्दा अहिलेसम्म योजनावद्ध विकासका अभ्यास, प्रयासहरु र तिनले दिएका अनुभवहरुको जगमा उभिएर वर्तमान र दीर्घकालिन आवश्यकतालाई सम्बोधन गरी योजना निर्माणको काममा सरकार लाग्नुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग अलमलिरहेको दाबी गर्नुभयो ।

योजना आयोग आगामी १६ औं योजना बनाउने विषयमा कुहिरोभित्रको काग जस्तै भइरहेको टिप्पणी गर्नुभयो । नेकपा एमाले अध्यक्षका केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको १५ औं योजना धेरै दृष्टिकोणले महत्वपूर्ण रहेको पौडलको भनाई छ ।

उहाँले १५ औं योजनाले नेपालको योजनावद्ध विकासमा डिपाचर हुने गरी नयाँ दिशाबोध दिएर विकासका परम्परागत अभ्यासहरुलाई ब्रेक थु्र गरेको उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकारले १६ औं योजना निर्माण गरिरहँदा १५ औं योजनाले संस्थागत गरेका निस्कर्षहरुलाई आत्मासाथ गर्ने र आवश्यक विषयलाई निरन्तरता दिने भन्दा पनि तिरस्कार र उपेक्षा गर्नेगरी अगाडि बढेको पाइएको दाबी गर्नुभयो ।

योजना आयोग १५ औं योजनाका सकारात्मक योगदानहरुलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको आरोप पौडेलको छ । १५ औं योजनाले राष्ट्रिय दीर्घकालिन र आवधिक लक्ष्य निश्चित गर्नेगरी लिएको समृद्ध नेपाल सुखी नेपाली दीर्घकालिन लक्ष्यलाई हटाइएको भन्दै असन्तुष्टि जनाउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुक आगामी १६ औं योजना निर्माणको चरणमा छ । १६ औं योजना निर्माण गर्दा अहिलेसम्म योजनावद्ध विकासका अभ्यास, प्रयासहरु र तिनले दिएका अनुभवहरुको जगमा उभिएर आज र भोलिको आवश्यकतालाई ठिक ढङ्गले पहिचान गरेर योजना निर्माणको काममा सरकार लाग्नुपर्ने हो । तर वर्तमान सरकार र सरकारको मातहतमा बनेको योजना आयोग १६ औं योजनाको निर्माणमा अलमलिएको छ । कुहिराको काग जस्तो भएको छ । उडान भरेको छ तर कता जाने हो थाहा छैन । यो सरकारको नेतृत्वमा रहेको योजना आयोगले कुनै गतिलो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने,विगतका अनुभवहरुको जगमा उभिएर योजनावद्ध प्रयासलाई सार्थक रुपमा गति दिनेगरी योजना निर्माण गर्छ भनेर आशा गर्नसक्ने अवस्था छैन । हामीसँग पञ्चवर्षीय योजना बनाउने राम्रो अनुभव छ । राम्रो अनुभव अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण गरेको योजना आयोग र त्यो योजना आयोगले बनाएको १५ औं योजना धेरै दृष्टिकोणले महत्वपूर्ण छ । नेपालको योजनावद्ध विकासमा डिपाचर थियो । नयाँ दिशाबोध दिएको थियो । विकासका परम्परागत अभ्यासहरुलाई ब्रेक थु्र गरेको थियो । आजको विश्व, क्षेत्रिय र राष्ट्रिय सन्दर्भमा योजनावद्ध विकासका प्रयास कस्ता भएका छन् र हाम्रो अनुभव छ भन्ने समेतको विश्लेषण गरेर अत्यन्तै व्यवस्थित १५ औं योजना अगाडि सारिएको थियो । अहिलेको सरकारले १६ औं योजना निर्माण गरिरहँदा १५ औं योजनाले संस्थागत गरेका निस्कर्षहरुलाई आत्मासाथ गर्ने,आवश्यक विषयलाई निरन्तरता दिने र नयाँ योजना भए सम्बोधन गरी जानुपर्ने हो तर १५ औं योजनाहरुलाई तिरस्कार गर्दै बिर्सन र कुल्चिएर उपेक्षा गर्न चाहेको छ । त्यसका सकारात्मक योगदानहरुलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको छ । १५ औं योजनाले विकासका सन्दर्भमा जस्ता खालको अभ्यास गरिए रहेको थियो त्यसलाई अहिलको योजना आयोगले रोक्यो । विशेष गरी राष्ट्रिय दीर्घकालिन र आवधिक लक्ष्य निश्चित गरेर संविधान निर्माण गरिसकेपछि देशको आर्थिक समाजिक रुपान्तरण मुद्दा मुख्य हो भन्ने कुरा आएपछि संविधानको मर्म अनुरुपको १५ औं योजना निर्माण भएको थियो । त्यसले समृद्ध नेपाल सुखी नेपाली दीर्घकालिन लक्ष्य निर्धारण ग¥यो ।’

पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले योजना आयोगको १६ औं योजना निर्माणको तयारी गतिलो योजना आउने अवस्था नदेखिएको उल्लेख गर्नुभयो । उहाँले १६ औं योजनाले संविधानले नागरिकलाई प्रदान गरेका अधिकारलाई व्यवहारिक रुपमा उपलब्ध कसरी गराउने भन्ने विषयमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

योजना आयोग १५ औं योजनालाई अस्वीकार गर्ने तर अहिलेको अवस्थाअनुसार नयाँ योजना दिन पनि नसक्ने दुविधामा १६ औं योजनाको तयारी गरिरहेको पौडेलको भनाई छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले १५ औं योजनाले अघि सारेका योजनाहरुलाई निरन्तरता दिँदै थप आवश्यकताहरुलाई पहिचान गरेर आयोगले योजना निर्माण गरिनु पर्ने बताउनु भयोे । उहाँले सरकारले १५ औं योजनाप्रति पूर्वाआग्रह राखेर १६ औं योजना बनाउन नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ राष्ट्रिय योजना आयोगको तयारी हेर्दा १६ औं योजना गतिलो हिसावमा आउने अवस्था छैन । १६ औं योजनाले संविधाने नागरिकलाई प्रदान गरेका अधिकारलाई व्यवहारिक रुपमा उपलब्ध गराउने कसरी भन्ने विषयमा योजनाले प्राथमिकता दिनुपर्ने हो । तर योजना आयोगले यो विषयमा तयारी गरेको पाइदैन । १५ औं योजनालाई अस्वीकार गर्ने र अहिलेको अवस्था अनुसार नयाँ योजना दिन नसक्ने खालको दुविधामा १६ औं जनाको तयारी अगाडि बढेको देखिन्छ । १५ औं योजनाले अघि सारेका योजनाहरुलाई निरन्तरता दिँदै थप आवश्यकताहरुलाई पहिचान गरेर योजना निर्माण गरिनुपर्छ । १५ औं योजनाप्रति आग्रह राखेर १६ औं योजना बनाउनु हुँदैन । समृद्धि नेपाल सुखी नेपालीको नारा एमालेको सरकारले ल्याएपनि यो नारा एमालेको नभएर समग्र नेपालीको साझा नारा हो । अहिले सबैको साझा नारा बनेको छ । यसमा कसैले विमती राख्नुपर्ने विषय छैन । तर अहिलेको सरकार र योजना आयोग समग्र राष्ट्रले ग्रहण गरेको निस्कर्षलाई पनि करेक्शन गर्न चाहेको छ । यस्तो खालको आग्रहबाट माथि उठ्न जरुरी छ । १६ औं योजनामा मानवीय विकासका आवश्यकता केके हुन् भन्ने विषयमा ध्यान दिनुपर्छ । अहिलेको चुनौती र आवश्यक केहो भन्ने बुझ्न जरुरी छ । १६ औं योजनाले शिक्षामा मुलुकको आवश्यकता अनुसार बनाउनुपर्ने छ । सीप विकास,रोजगारी र आत्मनिर्भरताको विकास गर्न सकेको छैनौं । त्यसमा केन्द्रित हुनुपर्छ । लाखौं विद्यार्थी विदेश जाने क्रम रोक्ने कसरी ? नेपाली विद्यार्थीले देशभित्र गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भन्ने कुरामा विश्वास आधार निर्माण गर्ने कसरी भन्ने विषयमा योजना केन्द्रित हुनुपर्छ । स्वास्थ्य क्षेत्रमा उपचारको नाममा अर्बौं रुपैयाँ विदेश गइरहेको छ । त्यसलाई रोक्नको लागि मुलुकभित्रै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विकासमा केन्द्रित योजना बन्नुपर्छ ।’

उपाध्यक्ष पौडेलले समृद्धि नेपाल सुखी नेपालीको नारा एमालेको सरकारले ल्याएपनि समग्र नेपालीको साझा नारा भएको दाबी गर्नुभयो । उहाँले समृद्धि नेपाल सुखी नेपालीको नारामा कसैले विमती राख्नुपर्ने विषय नभएको बताउनु भयो।

उहाँले अहिलेको सरकार र योजना आयोग समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई करेक्शन गर्न चाहेको दाबी गर्नुभयो । उहाँले १६ औं योजनामा मानवीय विकासका आवश्यकताका विषयमा बढी ध्यान दिन सुझाव दिनुभयो ।

उहाँले १६ औं योजनाले शिक्षालाई मुलुकको आवश्यकताअनुसार बनाउने गरी योजना निर्माण गरी सीप विकास,रोजगारी र आत्मनिर्भरताको विकास गर्नेमा केन्द्रित हुनुपर्ने बताउनु भयो। उहाँले विद्यार्थीले देशभित्र गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भन्ने विषयमा विश्वासको आधार निर्माण गर्नेमा योजना केन्द्रित हुनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here