काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता पछिको विकास सन्तोषजनक रहेको बताउनुभएको छ ।
सोमवार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय सरकार बनेपछि, संघीय लोकतान्त्रिक गणतन्त्रका संविधान बनेपछि र स्थानीय सरकारलाई जनताको प्रत्यक्ष नियन्त्रण, निगरानी र हस्तक्षेपको सरकार जनताको सरकारको रुपमा परिभाषित गरिएपछि भएका विकास उत्साहवद्र्धक रहेको बताउनु भयो ।
७५३ तहकै अवस्था हेर्दा आफूले विकास निर्माण लगायतमा भएको काम सन्तोषजनक पाएको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई वागमती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेप वा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आफूले जति पहल गर्ने अर्को प्रतिनिधि देख्नुभएको छ ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले आफू काठमाडौंको फोहोर व्यवस्थापन लगायतका कुरामा रचनात्मक रहेको बताउनु भयो । व्यवस्थापनका लागि गरेको पहललाई स्वीकार्न किन नसकेको भन्दै मेयर साहलाई प्रश्न गर्नुभयो ।