झापा । बन्दकर्ताले शनिबार साँझ इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको पिकअपमा आगजनी गरेका छन् ।
झापाबाट पराल लिएर इलामको तारगाउँ जाँदै गरेको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा कुदाएको भन्दै बन्दकर्ताले रोकेर आगजनी गरेका हुन् ।
बन्दकर्ताले आगो लगाउँदा पिकअप जलेर काम नदिने भएको छ । बन्दकर्ताले चालकलाई ओराली पिकअपमा आगो लगाएको स्थानीयबासीले बताएका छन् ।
मेची राजमार्गमा बन्दकर्ताले दिनभर बिभिन्न ठाउँमा यातयात अवरुद्ध गरेका थिए । बन्दको समयमा मेची राजमार्गमा कुनै सुरक्षाको ब्यवस्था नभएको यातायत ब्यवसायीले जनाएका छन् । तर प्रहरीले भने स्कर्टिङ गरेर सवारी साधन सञ्चालन गरेको बताएको छ ।
आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै प्रदेशका पहिचानपक्षधरले शनिवार र आइतबार प्रदेश बन्दको आह्वान गरेका छन् । उनीहरूले नेकपा एमालेको पाँचथरको फिदिममा आयोजित कार्यक्रमलाई विथोल्ने किसिमले बन्दको आह्वान गरेका हुन् ।