काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्युनिकरण गरी प्रभावित क्षेत्रका मानिसको जीवन सहज बनाउनु आजको प्रमुख चुनौति रहेको बताउनुभएको छ ।
मंगलवार ललितपुरमा इसिमोड स्थापनाको ४० औं वार्षिकोत्सव समारोहमा नव निर्मित भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको बताउनु भयो ।
उहाँले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी पुगेको जिकिर गर्नुभयो । उहाँले नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शुन्य सरह योगदान गरेपनि जलवायु परिवर्तनको प्रभाव अत्याधिक रहेको बताउनु भयो ।
सदस्य राष्ट्रहरुले जलवायु परिवर्तनजन्य समस्या समाधान गर्न एकजुट भएर सहकार्य गर्न र मुद्दा अन्तर्राष्ट्रिय स्तरमा एकमत भइ उठान गर्न समेत आह्वान गर्नुभयो ।