झापा । धार्मिक अहिष्णुता तथा विभेदलाई परास्त पार्दै हिन्दु सनातन धर्मलाई संरक्षण गर्न धार्मिक अनुष्ठानले महत्वपूर्ण भूमिका खेल्ने संघीय संसदका सभामुख देवराज धिमिरेले बताउनु भएको छ ।
झापाको बाह्रदशी गाँउपालिकास्थित कन्चनगढधाम साधुकुटीमा सोमबारबाट आयोजना गरिएको श्रीमदभागवत् धनधान्याचल राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सवलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले मानव सभ्यताको बिकास भएको ऐतिहासिक स्थान साधुकटीको संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उक्त स्थानमा ५० वर्ष पहिले साधुको कुटी रहेको बताउँदै उक्त स्थान महाभारत कथासंग जोडिएको प्रसंग उठान गर्नुभयो ।
उहाँले नेपाली सनातन धर्मका लागि नयाँ/नयाँ ग्रन्थ निर्माणको प्रेरणा साधुकुटी धामले प्रदान गरेको धार्मिक ग्रन्थमा प्रमाण भेटिएको बताउनुभयो ।
पहिला प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको उक्त स्थान २०३१ सालदेखि २०३६ सालसम्म सटापट्टामा जनतालाई राख्नका लागि तत्कालिन सरकारहरूले प्राकृतिक स्थितिलाई परिर्वतन गर्ने काम गरेको सभामुख घिमिरेले बताउनुभयो ।
बालाचर्तुदशी पर्वलाई लक्षित गरेर आयोजना गरिएको महामहोत्सवको प्रमुख अतिथि बन्नु भएका सभामुख धिमिरले धामको बाटिकास्थलमा निर्मित शिवको प्रतिमा अनावरण एवं भानु भक्ति तिमल्सिना स्मृति कुञ्ज नामक आश्रमको उद्घाटन गर्नु भएको थियो ।
सात दिनसम्म सञ्चालन हुने श्रीमदभागवत महापुराणमा सुप्रसिद्ध कथावाचक श्री ईश्वर कृष्ण महाराजले कथा वाचन गर्नुहुने आयोजक समितिले जनाएको छ ।