काठमाडौ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउने कुरामा सरकार लागिपरेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बढ्दो आयात र घढ्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको बताउनु भयो ।
उहाँले पुँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नु र राजश्व परिचालन पनि अपेक्षाकृत रुपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सरकार र निजी क्षेत्रसहित सबै एकतावद्ध भएर समन्वयात्मक तरिकाले काम गरे अर्थतन्त्रलाई लयमा ल्याउन सकिने बताउनु भयो ।
उहाँले मुलुकसँग यतिबेला १० महिना भन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति रहेको पनि बताउनु भयो । अर्थतन्त्रका धेरै परिसूचकहरु अझै पनि पूर्णतः जोखिममुक्त भइ नसकेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले विश्व अर्थतन्त्र प्रभावित भइरहेको विषय हामी सबैका लागि जानकारी नै छ । सानो अर्थतन्त्र भएको नेपाल हामी पनि यसबाट अछुतो हुन सकेका छैनौँ । यस्तो जटिल र विषम परिस्थितिमा मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउन हामीले हाम्रा सम्पूर्ण प्रयासहरु केन्द्रित गर्नुपर्ने खाँचो छ । बढ्दो आयात र घढ्दो निर्यातका कारण हाम्रो अर्थतन्त्र सधैँ दबाबमा परिरहेको छ । विविध समस्याहरु हामी सामना गरिरहेका छौँ । त्यसमाथि पुँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नु र राजश्व परिचालन पनि अपेक्षाकृत रुपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन हामीले थप मेहनत गर्नुपर्छ । त्यसका लागि हामी सरकार र निजी क्षेत्रसहित सबै एकतावद्ध भएर समन्वयात्मक तरिकाले काम गर्नुपर्ने आवश्यकता छ । मुलुकसँग यतिबेला १० महिना भन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति छ । यो सुखद् कुरा पनि हो । यसो भएपनि अर्थतन्त्रका धेरै परिसूचकहरु अझै पनि पूर्णतः जोखिममुक्त भइसकेका छैनन् ।’
कार्यवाहक प्रधानमन्त्री खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रुपमा अन्य प्रणाली भन्दा उन्नत रहेको बताउनु भयो । उहाँले यो शासन प्रणालीको विकल्प नरहेको बताउनु भयो ।
वर्तमान शासन प्रणालीलाई अघि बढाउँदा जिम्मेवारीमा बसेकाहरुले कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याउनुपर्ने बताउनु भयो ।
उहाँले गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रुपमा प्रश्तुत गर्ने कुरालाई सबैले सामुहिक रुपमा जवाफ दिन जरुरी रहेको बताउनु भयो ।
उहाँले शासकीय सुधारहरु, सुशासन र आम नागरिकका अपेक्षाहरु, दैनिक आम उपभोक्तालाई दिनुपर्ने सेवा र सहजीकरण, निर्णय प्रक्रियामा छिटो छरितो, निर्णय प्रक्रियामा भएका झन्झटिला प्रक्रियाहरुलाई छिटो छरितो तरिकाले तिब्र गतिमा अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।