भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु


१८ कार्तिक २०८०, शनिबार १९:२९ मा प्रकाशित

काठमाडौं । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी एक सय ७० जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

यसै गरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन/तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here