बिराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।
शुक्रबार मुख्यमन्त्री केदार कार्कीले सत्तारूढ गठबन्धन दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको हो ।
शनिबार बिहान एमालेबाट विनाविभागीय मन्त्री बनेका राम रानाले राजीनामा बुझाएका छन् । शनिबार बिहान मन्त्री रानाले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएका रानाले सहमति कार्यान्वयन नभएपछि राजीनामा बुझाएको बताए ।
मन्त्रीको राजीनामा पछि एमाले र विद्रोही कांग्रेसको सहकार्य २० दिनमै टुटेको छ ।
शुक्रबार गठबन्धन दल नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगुलाई मुख्यमन्त्री केदार कार्कीले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।
गठबन्धन दललाई सरकारमा सहभागी गराएपछि शुक्रबार नै एमालेले राजीनामा बुझाउन खोजेको थियो । शनिबार बिहान मन्त्री राम रानाले मुख्यमन्त्रीको सरकारी निवासमा पुगेर राजिनामा बुझाएका हुन् ।
कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका कार्की नेकपा एमालेको समर्थनमा २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका थिए । २८ असोजमा सपथग्रहण गरेका उनले सोही दिन एमालेबाट राम राना र कांग्रेसबाट शम्शेर राईलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । १ कात्तिकमा उनलाई राप्रपा बाहेक सबै दलले विश्वासको मत दिएका थिए ।
शपथग्रहण पछि कार्कीले सर्वदलीय सरकार गठनको प्रयास गरेका थिए । गठबन्धनलाई सहभागी गराए सरकार छाड्ने एमालेको अडान र एमालेलाई बाहिर राख्नुपर्ने कांग्रेससहित गठबन्धन दलको दबाबका कारण उनले निर्णय लिन सकेका थिएनन् ।
शुक्रबार बिहान सत्तारुढ गठबन्धन दलसँगको छलफलपछि उनी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाट एकरएक जनालाई सरकारमा सहभागी गराएका थिए ।घ