काठमाडौं । गत भदौ ३० गते दुई देशको भ्रमणमा निस्किनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कँदै हुनुहुन्छ ।
अमेरिका र चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।
संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभएको थियो ।
न्युयोर्कमा रहँदा उहाँले अमेरिकाका राष्ट्रपति जो बाइडेन र अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो।
चीनमा रहँदा उहाँले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता र चीनमा भएको एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाउनुभएको थियो ।
प्रधानमन्त्री दाहालले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गर्नुभयो । यस क्रममा दुई देशबिच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।