विराटनगर । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज शनिबार पनि जारी छ । शुक्रबार सुरु भएको अधिवेशनमा आज राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल हुँदैछ ।
अधिवेशनमा हिजो विभिन्न प्रतिवेदनहरु प्रस्तुत गरिएका थिए । राजनीतिक र सांगठनिक प्रतिवेदन कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।
एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनहरुमाथि छलफलपछि पारित गरिने जनाइएको छ ।
प्रदेशको नेतृत्वका लागि दुईजनाले प्रतिस्पर्धा गर्ने भएका छन् । केन्द्रीय सदस्य घनश्याम खतिवडा र विनोद ढकाल नेतृत्वको प्रतिस्पर्धामा छन् ।
अधिवेशनको बन्द शत्र सञ्चालन गर्न केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलमा शेरधन राई, हिक्मतकुमार कार्की, अग्नि खरेल, शिवमाया तुम्बाहाम्फे, राजेन्द्र गौतम, भगवती चौधरी, जगदिश कुसियैत, राम राना मगर, पर्शुराम मेघी गुरुङ र सुनिता बराल सदस्य छन् ।
अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी रहेको आयोजक समितिले जनाएको छ । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गर्नेछ ।