काठमाडौं । काठमाडौं महानगरका मेयर र उपमेयरको कार्यालय अगाडि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरबीच चार बुँदे सहमति भएको छ ।
साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति भएको हो ।
उनीहरुबीच बुधबार बेलुका चार बुँदे सहमति भएको हो । सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोषणा गरेका छन् ।
फुटपाथ व्यवसायीको हक र अधिकारका लागि अभियन्ता ईः अनवरत १९९ घण्टादेखि काठमाडौँ महानगरपालिकाको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिएका थिए ।
सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने र अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई महानगरले व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ ।
समितिमा महानगरपालिकाका तर्फबाट तीन जना, अभियन्ताका तर्फबाट दुई जना प्रतिनिधि र भौतिक तथा यातायात मन्त्रालयबाट एक जना प्रतिनिधि रहने उल्लेख छ ।
समितिले २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्नुपर्ने छ ।
यस्तै फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक उपयुक्त स्थानको पहिचान गर्न महानगरपालिकाले एक हप्ताभित्र पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।