काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार जसरी भए पनि हटाउनुपर्ने बताउनुभएको छ ।
आइतबार ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अनि अहिलेको यो सरकार बसिरहनु हुन्छ, तपाईँहरू भन्नुस् त ? यस्तो सरकार राख्न हुन्छ ? तपाई हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो’, ‘यति नालायक सरकार । जनता हेर्दैन, सुनतिर हेर्छ यो सरकार ।’
‘ब्रेक सु ल्याउँछ–सुन, सिगरेट ल्याउँछ–सुन, पानी तान्ने मेसिन भन्छ–सुन । स्याउ ल्याउँछ–सुन’, ओलीले भन्नुभयो, ‘सरकारले भ्रष्टाचार बढाएको छ, तस्करी र हिंसा मच्चाएको छ । मलंगवामा निषेधाज्ञा छ । हिंसा भड्काउने प्रयास भइरहेको छ तर सरकार हेरेर बसेको छ।’