कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कार्की वीर अस्पताल भर्ना


२५ भाद्र २०८०, सोमबार ०८:०८ मा प्रकाशित

झापा । बिरामी हुँदाहुँदै शुक्रवार अस्पतालको बेडबाट शपथ खान झापाको बिर्तामोडबाट विराटनगर पुग्नु भएका कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

मन्त्री कार्कीलाई मुटुमा समस्यासँगै डेंगु सङ्क्रमण भएको बताइएको छ ।

उहाँलाई मुटु रोग पनि रहेको र डेंगु सङ्क्रमणका कारण दैनिक रूपमा प्लेटलेट घट्दै गएका कारण थप उपचारका लागि चिकित्सकहरूले सुविधा सम्पन्न अस्पताल जान सुझाव दिएको उहाँको परिवारले जनाएको छ ।

मन्त्री कार्कीको वीर अस्पताल काठमण्डौमा उपचार भइरहेको नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बताउनु भएको छ । 

बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार गराइरहनु भएका प्रदेश सभा सदस्य कार्कीलाई मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्री नियुक्त गर्नु भएको थियो । उहाँ बिरामी रहेकै अवस्थामा शपथ खानका लागि विराटनगर जानु भएको बताइन्छ । शपथ खाएपछि फर्किएर उहाँ अस्पताल नै भर्ना हुनु भएको थियो ।

मन्त्री कार्की वीर अस्पतालको स्पेसल भिआइपी कक्षमा उपचार गराइरहनु भएको र उहाँको अवस्था बुझ्न सङ्घीय सरकार जनसङ्ख्या तथा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत समेत पुग्नु भएको उहाँको पारिवारिक श्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here