सातै प्रदेशमा भ्रष्टाचार विरोधी अभियान चलाउने समाजवादी मोर्चाको निर्णय


४ भाद्र २०८०, सोमबार १०:१५ मा प्रकाशित

बिर्तामोड । समाजवादी मोर्चाले सातै वटा प्रदेशमा भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गर्ने भएको छ । साेमबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सरकारले अगाडि सारेको भ्रष्टाचार विरोधी अभियान र कारबाहीलाई समर्थन गर्ने निर्णय पनि गरेको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भदौ ८ गतेबाट प्रादेशिक तहमा घोषणा सभा सञ्चालन गर्ने जानकारी दिए ।

पहिलो घोषणा सभा मधेश प्रदेशको वीरगन्जमा भदौ ८ गते हुनेछ । १२ गते लुम्बिनी प्रदेशको बुटवलमा, १३ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा घोषणा सभाको कार्यक्रम राखिएको छ ‌।

भदौ १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौंडामा र २५ गते कोशी प्रदेशको बिराटनगरमा कार्यक्रम आयोजना गरिएको छ ‌।

मोर्चाको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सहितका नेताहरु सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here