नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख खापुङ्ले उहाँलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दावी पेस गरिएको थियो ।
कोशीमा कांग्रेसबाट मुख्यमन्त्री बन्ने थापा पहिलो व्यक्ति हुनुहुन्छ । यसअघिका चारै जना मुख्यमन्त्री कम्युनिष्ट पार्टी थिए ।
गठबन्धन दलहरूसँग प्रदेश सभामा जम्मा ४७ मत छ ।
यो ९३ सदस्यीय प्रदेशसभाको बहुमत संख्या हो ।
यद्यपि यो संख्यामा सभामुख बाबुराम भण्डारीको पनि गणना माओवादी केन्द्रले गरेको छ ।
दाबी पेश गर्नेबेलामा दलका नेताहरुले हस्ताक्षर गरे पुग्ने भए पनि विश्वासको मत लिने बेलामा भने सभामुखको भूमिका के हुने भन्ने अन्योल छ ।
भर्खरै सत्ताबाट बहिगर्मित एमालेले मात्रै होइन, संविधानविद्हरूले पनि सदनमा बराबरी मत भए मात्रै सभामुखले निर्णायक मत दिन पाउने भनिरहेका छन् ।
संविधानले पनि सोही कुरा भनेका कारण राप्रपा फ्याक्टर प्रदेशमा निर्णायक सावित हुने छ ।