काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरभित्रका संस्थागत विद्यालयमा कार्यरत शिक्षकले सरकारी सुविधासरह तलब नपाए महानगरपालिकाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।
उहाँले संस्थागत विद्यालयका शिक्षकका लागि नयाँ तलबदर पनि तोक्नुभएको छ । मेयर साहले सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिनुभएको हो ।
मेयर साहले सार्वजनिक गरेको तलबमानमा पद र श्रेणी अनुसारको तलब तोकी सुरुको तलब र काम हुने जम्मा तलबको दर तोकिएको छ । उहाँले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक गरी तीनवटै तहका विद्यालयका शिक्षकको तलब दर तोक्नुभएको छ ।
यससँगै अब शिक्षकको तलब न्यूनतम ३१ हजार २९६ देखि अधिकतम ६८ हजार १४५ सम्म पुगेको छ ।







