काठमाडौ । परराष्ट्रमन्त्री एनपी साउदले राहदानी वितरण कार्यलाई थप सहज बनाउने प्रयास भइरहेको बताउनुभएको छ ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री साउदले समयमा नै राहदानी छपाई प्रक्रिया अघि बढाएर सहज रुपमा राहदानी वितरण गर्ने प्रयास भइरहेको जानकारी दिनुभएको हो ।
उहाले मासिक औसत १ लाख २० हजार राहदानी वितरण भइरहेको र अहिले चार महिनाका लागि पुग्ने राहदानी मौज्दात रहेको बताउनुभयो ।
५० लाख राहदानी छाप्नका लागि टेन्डर भएपनि सरकार आफैले छाप्ने भनेर २० लाख मात्रै छापिएको अवस्थामा सुरक्षण मूद्रण प्रेसको विवादका कारण राहदानी छाप्ने कार्य रोकिएको उहाले बताउनुभयो ।
अन्तर्राष्ट्रिय मापदण्ड कार्यविधि भित्र रहेर सुरक्षित रुपमा छाप्नुपर्ने भएकाले छपाई प्रक्रियामा केही समय लाग्ने मन्त्री साउदको भनाइ छ ।
त्यस्तै मन्त्री साउदले अर्थ मन्त्रालयबाट ओएनएम सर्वेका लागि सहमति लिएको भएपनि कर्मचारी संख्या नबढ्ने गरी सर्वे गर्नु भनेपछि समस्या भएको जिकिर गर्नुभयो ।
बैठकमा समिति सदस्यहरुले राहदानी वितरणमा हुनेगरेको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
समिति सदस्य एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले राहदानीको छपाईको प्रक्रियामा समयको ध्यान दिन सुझाव दिनुभयो ।
ठेक्का पट्टामा मूल्यबृद्धि गर्ने काम हुने भएकाले समयमा नै छपाइ गरे मूल्य कम हुन सक्नेतर्फ ध्यान दिन उहाले आग्रह गर्नुभयो ।
उहाले राहदानी वितरणमा बिचौलियाको प्रभावलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै समिति सदस्य बर्षमान पुनले राहदानीका बारेमा आवश्यक जानकारी जनतालाई दिनुपर्ने बताउनुभयो ।
५० लाख राहदानी छाप्नका लागि टेन्डर हुदा पनि २० लाख छापिदा राहदानीको अभाव हुने अवस्था पैदा भएको भन्दै उहाले सरकारका तर्फबाट बेलैमा उचित व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।
बैठकमा अन्य समिति सदस्यहरुले छपाई र वितरण प्रक्रियालाई पारदर्शी गर्दै नागरिकलाई सहज रुपमा राहदानी उपलव्ध गराउनुपर्ने धारणा राखेका थिए ।






