सवारी दुर्घटनामा परि सुदूरपश्चिमका कानूनमन्त्री सिंहसहित तीन जनाको निधन


५ असार २०८०, मंगलवार १९:५३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको छ ।

बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा पर्नुभएका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपरान्ह निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मन्त्री सिंहलाई दुर्घटनास्थलाबाट थप उपचारका लागि हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगञ्ज ल्याइएको छ ।

दुर्घटनामा मन्त्री पत्नी अमृता सिंह र नातामा भाउजू पर्ने जयादेवीको भने उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको बझाङका प्रहरीले जनाएको छ ।

प्रदेश मन्त्री सिंह चढेको सुपप्र १००१ झ ४८ नम्बरको जीप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेर दुर्घटना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here