काठमाडौं । जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले दोस्रो खेलमा आज अमेरिकाको सामना गर्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र अमेरिकाबीचको खेल दिउँसो १२ः४५ देखि ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।
प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको थियो । जिम्बाब्वेविरुद्ध ब्याटिङमा राम्रो गरेको नेपाल बलिङमा भने चुक्यो ।
यता अमेरिका पहिलो खेलमा वेस्ट इण्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपाल पहिलो खेलको फराकिलो हार बिर्सिँदै अमेरिकाविरुद्ध जित निकाल्ने सोचमा छ । सुपर सिक्सको सम्भावना जीवितै राख्न अमेरिकाविरुद्धको खेल नेपालका लागि महत्वपूर्ण छ ।
हेड टु हेडको कुरा गर्दा हालसम्म नेपाल र अमेरिकाले एकअर्काविरुद्ध ६ ओडिआई खेलेका छन् । जसमा नेपालले ३ खेल जितेको छ । नेपाल र अमेरिकाबीचको एक खेल भने टाई भएको छ । अमेरिकाविरुद्ध नेपालले प्लेइङ–११ खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ ।






