५१ करोड लगानीमा झापाको बुट्टाबारीदेखि प्याकुरेल चोकसम्म सडक निर्माण हुने


२ जेष्ठ २०८०, मंगलवार १४:२३ मा प्रकाशित

भरत प्रसाई,बिर्तामोड । झापाको बिर्तामोड–६ बुट्टावारीदेखि प्याकुरेल चोकसम्मको सडक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण हुने भएको छ ।

विश्व बैँकको सहयोगमा एउटा महत्वाकांक्षी परियोजनाका रुपमा उक्त सडक निर्माण हुन लागेको हो ।

मंगलवार बिहान बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले उक्त सडकको शिलान्यास गर्नु भएको छ ।

शिलान्यासपछि उहाँले बिर्तामोडको एउटा नमूना र आकर्षक सडकका रुपमा यसको निर्माण हुने बताउनु भयो ।

बिकासमा कसैबाट रोकावट नहुनेमा आफू आशावादी रहेको नगरप्रमुख प्रसाईंले बताउनु भयो । अरु सडक भन्दा यो भिन्न रुपमा निर्माण हुने नगर प्रमुख प्रसाईले बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय मापदण्डको यो सडक झापाकै गौरवको सडक हुने भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले विना अवरोध सडक निर्माण सम्पन्न गराउन स्थानीयबासीलाई आग्रह गर्नुभएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेका अनुसार झण्डै ६.२ किलोमिटर सडक निर्माणका लागि विश्व बैँकले ५१ करोड २९ लाख ६१ हजार रुपैयाँ खर्चिँदैछ ।

दुई वर्षभित्र निर्माण पूरा गर्ने गरी सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो ।

गत मङ्सिर १६ गते बिर्तामोडको आरपी साप समता जेभीले सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको हो ।

नगरका इञ्जिनियर नरेन्द्र श्रेष्ठले सडक दुई लेनको बन्ने बताउदै सडक निर्माणको प्राविधिक पाटोका सम्बन्धमा प्रष्ट पार्नु भएको थियो ।

सडकमा हाल रहेका सिमेन्टका पोललाई विस्थापित गरी ४६८ वटा पोल लगाइने इञ्जिनियर श्रेष्ठले बताउनु भयो ।

१२.५ मिटर चौडाईको सडकको दायाँवायाँ पेबर्स बिछ्याइनेछ । दुवैतर्फ ड्रेनसहित हुने सडकमा पाँचवटा बक्स कल्भर्ट र १२ वटा ह्युमपाइप राखिने प्रमुख प्रशासकीय अधिकृत न्यौपानले जानकारी दिनु भयो ।

सडकको दुवैतर्फ झिलीमिली बनाउन ६१९ वटा स्टिल लाइट राखिनेछ । सडक निर्माणसँगै दायाँबायाँ विभिन्न प्रजातिका एक हजार दुई सय ३६ वटा बिरुवा रोप्ने योजना छ ।

नगरका पूर्व प्रमुख ध्रुव सिवाकोटीले पाँच वर्षको प्रयत्नपछि यो सडक निर्माण सम्भव भएको बताउनु भयो । यसलाई सहज ढंगले सम्पन्न गर्न सकियो भने थप सहयोग प्राप्त हुने सिवाकोटीले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी उपप्रमुख नगेन्द्रप्रसाद सङग्रौलाले लामो प्रतिक्षापछि गौरवपूर्ण आयोजनाको रुपमा यो सडक निर्माण हुन लागेको बताउनु भयो ।

६,७,८ नम्बर वडालाई यो सडकले जोड्नेछ । अहिले भइरहेका सडकमध्ये यो अत्यन्त आकर्षक हुने उहाँले बताउनु भयो ।

शिलान्यास समारोहमा लोकतान्त्रिक समाजवादी पार्टीका लखनलाल राजवंशी, राप्रपा जिल्ला उपाध्यक्ष धुव्र उप्रेती, नेकपा माओवादी केन्द्रका जेवी जवेगु, नेकपा एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराई, निर्माण व्यवसायी मनोज उप्रेती लगायतले शुभकामना राख्दै परियोजना समयमै पुरा गर्न सबै पक्षबाट खबरदारी हुनु पर्नेमा जोड दिएका थिए ।

वडाध्यक्ष सूर्य कन्दङवाको अध्यक्षतामा भएको शिलान्यास समारोहको सञ्चालन नगरका योजना अधिकृत जय तिम्सिनाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here