प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल गर्न संवैधानिक परिषदको बैठक आह्वान


५ बैशाख २०८०, मंगलवार ०८:०७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रवारका लागि संवैधानिक परिषद्को बैठक बोलाउनु भएको छ ।

प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भइरहँदा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको हो । यही वैशाख ८ गते शुक्रवार बिहान ९ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका लागि छलफल हुनेछ ।

संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक  सल्लाहकार हरिबोल गजुरेलले सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष  नेताहरूबीच हिजो भएको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा सहमति  जुटेपछि  प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको जानकारी दिनुभयो ।

तत्कालीन  प्रधानन्यायाधीश  चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लागेसँगै सर्वोच्च अदालत १५ महिनादेखि कायममुकायमको भरमा चल्दै आएको छ । अहिले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here