काठमाडौं । सरकारसंगको वार्ता भंग भएपछि मिटरब्याजी पीडितले काठमाडौंमा बृहत मार्चपास गर्ने भएका छन् ।
आफ्ना माग पूरा गर्नका लागि दवाव दिन भन्दै आगामी बैंशाख ४ गते काठमाडौंमा बृहत मार्चपास गर्ने उनीहरुले जनाएका छन् । यसअघि बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो । वार्ता भंग भएपछि उनीहरु काठमाडौंको शान्तिबाटीकामा निरन्तर धर्ना दिँदै आएका छन् ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ । मिटरब्याजी पीडितले ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप समेत लगाएका छन् ।
चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राख्दै पीडितहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।






