काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन हुनुभएको छ ।
बिहीबार दोस्रो चरणको निर्वाचनमा उपाध्यक्षका अर्का उमेदवार उमेशलाल श्रेष्ठले अन्जनलाई समर्थन गरेपछि उहाँ महासंघको वरिष्ठ उपाध्यक्षमा चयन हुनुभएको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ चयन भएसंगै महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया सम्पन्न भएको छ । यससंगै महासंघका नयाँ अध्यक्ष चन्द्र ढकाललाई पद तथा गोपनियताको सपथ गराइएको छ ।
प्रज्ञा भवन कमलादीमा महासंघका अध्यक्ष शेखर गोल्छाले ढकाललाई सपथ गराउनुभएको हो । सपथपछि महासंघका अध्यक्ष ढकालले सर्वसम्मतीले वरिष्ठ उपाध्यक्ष चयन हुनुले सम्पूर्ण निजी क्षेत्रको जित भएको बताउनुभयो ।
महासंघको २० औं अध्यक्षको कार्यभार सम्हाल्ने कार्यभार आएको भन्दै उहाँले सवैलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । ढकालले आफ्नो नेतृत्वमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणलाई सकारात्मक रुपमा परिवर्तन ल्याउने बताउनुभयो ।
त्यस्तै महासंघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले उद्योगी व्यवसायीको समस्यालाई समाधान गर्न आफूले ध्यान केन्द्रित गर्ने बताउनुभयो ।
उहाले व्याजदर र तरलताको समस्या समाधान गर्नुपर्ने, लगानी योग्य पूँजी भित्राउनुपर्ने, उद्योगी व्यवसायीहरको पूर्वाधारको व्यवस्था लगाएत नीति नियमहरुलाई आवश्यकता अनुसार परिमार्जन र परिवर्तन गर्नका लागि अघि बढ्ने धारणा राख्नुभयो ।
महासंघको निर्वाचनमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित हुनुभएको छ भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित हुनुभएको छ ।






