काठमाडौं । मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा ओपनर रित गौतमको सतकमा नेपालले सिंगापुरलाई ३२७ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ४ विकेटको क्षतिमा ३२६ रन जोड्यो । नेपालका लगि रितले नटआउट १ सय १५ रन जोडे । रितले १३७ बलमा १० चौका र १ छक्का हिर्काए। ४८ ओभरमा सतक प्रहार गरेका रित जारी प्रतियोगितामा सतक हिर्काउने पहिलो खेलाडी बने ।
उनका ओपनिङ पार्टनर पवन सर्राफ ४१ बलमा १० चौका प्रहार गरेर ४५ रनको योगदान दिए । त्यसपछि ब्याटिङमा आएका खडकबाहदुर बोहराले ९० रनको उत्कृष्ट इनिङ खेले। उनले ९० बलमा १२ चौका हिर्काएका थिए ।
खडक आउट भएपछि मैदान छिरेका विशालविक्रम केसी १ रन र कप्तान रोहितकुमार पौडेल ७ रनमै आउट भए । रितलाई अन्तिमसम्म साथ दिएका कुशल मल्लले आक्रामक ब्याटिङ गरे ।
उनले २३ बलमा नटआउट ५१ रन जोडे। २३ बलमै अर्धशतक बनाएका उनले ४ चौका र ५ छक्का हिर्काएका थिए । कुशलले अन्तिम ओभरमा ४ चौका र १ छक्का हिर्काएका थिए । यस्तै ४६ ओभरमा उनले लगातार ३ छक्का प्रहार गरेका थिए ।
बलिङमा सिंगापुरका प्रनव सुदर्शन र विनित महेताले २–२ विकेट लिए । नेपाल र सिंगापुर दुवै टिम यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । खेलमा विजयी हुने समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ ।
सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित सिङ्गापुर र चीन छन् । नेपालले पहिलो खेलमा चीनमाथि १० विकेटको जित हात पारेको थियो । सिंगापुरसँग पनि हारेको चीन प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो ।
समूह ‘बी’ मा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउनेछन् । यस प्रतियोगिताबाट विजेता टोली श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कपमा छनोट हुनेछ ।





