राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू


१७ फाल्गुन २०७९, बुधबार ०७:१९ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू  भएको छ ।

निर्वाचन आयोगले आचारसंहिता आउँदो चैत ५ गतेसम्म कायम रहने जनाएको छ ।  

राष्ट्रपतिको चुनाव यही फागुन २५ गते र उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदैछ । विभिन्न ११ व्यक्ति, संस्था तथा निकायलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो  ।

यो आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, त्यसका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागू हुनेछ ।

आयोगले निर्वाचन आचारसंहिताको पालना गर्न पनि सबै पक्षलाई आग्रह गरेको छ । निर्वाचन अधिकृतको  कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार उम्मेदवारका प्रतिनिधिसँग आज छलफल राखिएको छ । छलफलमा आचारसंहिताबारे प्रतिनिधिलाई जानकारी गराइनेछ  ।

कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न नहुने, दल वा उम्मेदवारले गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने आचारसंहिताले व्यवस्था गरेको छ ।

आचारसंहिता लागू भएको अवधिमा योजनाको शिलान्यास, उद्घाटन र सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा अनुदान दिने जस्ता कार्यक्रम गर्न रोक लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here