श्रीलंकाले मृत्युदण्ड सजायँ ब्युँताउन लागेकोमा विरोध


१७ असार २०७६, मंगलवार १५:२० मा प्रकाशित

काठमाडौं । चार दशकपछि श्रीलंकाले मृत्युदण्ड सजायँ ब्युँताउन लागेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

मृत्युदण्डको विरोधमा एमनेष्टी इन्टरनेसनललगायतका विभिन्न अधिकारवादी संघसंस्थाले मंगलबार महाराजगञ्जस्थित श्रीलंकन दुतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका लागि दुतावास पुगेका अधिकारकर्मीहरूले नेपालका लागि श्रीलंकन राजदूत स्वर्णा परेरालाई ज्ञापनपत्र बुझाएको जवाफदेहिता निगरानी समितिका अध्यक्ष चरण प्रसार्इले जानकारी दिए ।

‘संसारभरि मृत्युदण्डको विरोध भइरहेका बेला ४२ वर्षपछि किन लागु गर्नुपर्‍यो भनेर विरोध गरेका हौं’ प्रसाईले भने, ‘ज–जसलाई मृत्युदण्ड दिन खोजिएको छ, उनीहरूको जीवन रक्षा हाम्रो तत्कालको माग हो ।’

गत शुक्रबार श्रीलंकाले मृत्युदण्ड दिनका लागि दुईजना जल्लाद नियुक्त गरेपछि अधिकारकर्मीहरूले यसको विरोध गरेका छन् । श्रीलंकन राष्ट्रपति मैत्रीपाल सिरिसेनाले ४२ वर्षपछि गत बुधबार मृत्युदण्डको सजायँ पुनः ब्युँताएको घोषणा गरेका थिए ।

सन् १९७६ यता श्रीलंकाले कसैलाई पनि मृत्यदण्ड सजायँ दिएको थिएन । श्रीलंकामा मृत्युदण्डको सजायँ सुनाएका एक हजार दुई सय ९९ जना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here