झापा । झापाको बिर्तामोड नगरपालिकाले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे तथा उपसभामुख इन्दिरा रानामगरलाई सम्मान गरेको छ ।
बिहीबार नगरपालिका कार्यालयको प्रांगणमा आयोजित एक विशेष कार्यक्रममा सभामुख घिमिरे तथा उपसभामुख रानामगरलाई सम्मान गरिएको हो ।
उहाँहरूलाई दोसल्ला ओडाएर तथा सम्मान पत्र प्रदान गरेर नगरप्रमुख पवित्रा महतारा प्रसाईंले सभामुख घिमिरे तथा उपसभामुख रानामगरलाई सम्मान गर्नुभएको हो ।
सम्मान कार्यक्रममा बोल्दै सभामुख घिमिरेले अहिले देशको राजनीतिक तथा आर्थिक अवस्था धेरै बिग्रिएको बताउनुभयो ।
झापा क्षेत्र नं २ का सांसद घिमिरेले देशको आर्थिक अवस्था निकै बिग्रिएकाले अर्थमन्त्री विष्णु पौडेलले खर्च कटौती गर्ने प्रस्ताव संसदमा पेश गर्नुभएको बताउनु भएको हो ।
संसदमा पनि विभिन्न प्रकारका संविधान विपरितका अभिव्यक्तिहरू सांसदहरूबाटै आउने गरेकाले राजनीतिक परिस्थिति पनि अप्ठ्यारो अवस्थामा रहेको उहाँले बताउनुभयो ।
बिर्तामोड नगरपालिकाद्वारा सम्मानित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले जनताका कामलाई अगाडि बढाउन आफ्नो तर्फबाट सक्दो प्रयास रहने बताउनुभयो ।
आफूले विगतमा गरेका काममा जनप्रतिनिधिहरूले विरोध गरेका कारण आफू राजनीतिमा आउनुपरेको उहाँको भनाइ थियो ।






