झापा । प्रणय दिवसको अवसर पारेर रोङ विद्यार्थी एकता समितिले ट्राफिक सचेतना कार्यक्रम झापा र इलामको सीमाना जोरकलशमा सम्पन्न गरेको छ।
सवारी चालकलाई जिम्मेवार बनाउन ‘मेरो परिवार र यात्रुको जिम्मेवारी ममा’ भन्ने नाराका साथ मंगलबार जोरकलशमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको हो।
रोङ विद्यार्थी एकता समितिका अध्यक्ष बिमल कट्टेलको अध्यक्षतामा सम्पन कार्यक्रममा बोल्दै प्रमुख अथिति रोङ गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले विद्यार्थीले गरेको कामको प्रशंसा गर्नुभयो।
प्रणय दिवसको दिन कतिपय विद्यार्थी आफ्नो प्रेमी-प्रेमिकासँग घुमफिर गरिरहँदा रोङ विद्यार्थी एकता समितिका विद्यार्थीहरुले चाहिँ सामाजिक काममा दिएको यो तत्परताले खुसी लागेको उहाँले बताउनु भयो।
आगामी दिनमा रोङ विद्यार्थी एकता समितिसँग सदैव सहकार्य गरेर जाने र पालिकाले गर्नुपर्ने सहयोगमा कहिले पछि नपर्ने उपाध्यक्ष खवासको भनाइ थियो ।
ट्राफिक नियम सबैले मान्नुपर्ने र सबैलाई सचेत गराउन पनि प्रहरीसमक्ष उहाँले अनुरोध गर्नु भयो । रोङ विद्यार्थी एकता समितिको आयोजना तथा पर्यटन सूचना केन्द्र, ट्राफिक प्रहरी पोष्ट र अंकुरण फाउन्डेसन रोङको सहकार्यमा सप्पन्न कार्यक्रममा मेची राजमार्गमा गुड्ने सवारी साधनमा मादक पदार्थ सेवन गरि सवारी नचलाउने प्रतिवद्धतासहितको ‘मेरो परिवार र यात्रुको जिम्मेवारी ममा’ लेखिएको स्टिकर टाँसी सवारी चालकलाई प्रेम दिवसको उपलक्षमा प्रेमको प्रतिक गुलाफको फूलसमेत प्रदान गरिएको थियो ।
रोङ विद्यार्थी एकता समिति विवेक कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रममा किटेनी प्रहरी चौकिका इन्चार्ज प्रहरी नायव निरीक्षक भानु मगर लगायतले आफ्ना धारणा राख्नु भएको थियो । कायक्रम रोङ विद्यार्थी एकता समिति सदस्य गृष्मा सापकोटाले संचालन गर्नु भएको थियो ।