सडक मेरो पनि होइन र ?


२८ माघ २०७९, शनिबार १७:४० मा प्रकाशित


भावना लिङदेन,
एक प्रजातान्त्रिक देशको नागरिक हुँ । जहाँ मेरो नैर्सगिक अधिकारको उपयोग गर्न कसैलाई मेरो परिचय पत्र देखाउनु पर्दैन । म नेपाली हुँ यतिमै पर्याप्त छ । तर म यहाँ केवल नागरिक मात्र भएँ, चाहेर पनि कहिले यो देशको नागरिक हुन सकिन ।
म त सडकको मान्छे हुँ । मलाई यही सडकबाटै गुजारा चल्छ । मैले कसैको जिन्दगी बचाउनु छ । कसैको भोको पेट भराउनु छ । हुन त म आफैं खत्तम मान्छे हुँ । बाढी–पहिरोको अवलोकन हलिकप्टर मार्फत हुने, जनप्रतिनिधि भएको देशको नागरिकले यत्रो ठूलो अपेक्षा गर्नु । तर के मात्र हो भने सम्मानीय राष्ट्रपतिज्यू म सडकको मान्छेलाई सडक नै बन्द गर्नु भन्दा शीतल निवासबाट बानेश्वरसम्म पनि हेलिकप्टरबाटै सवारी हुनुभएको भए बिनाकारण मेरो टाउको फुट्ने थिएन । मेरो प्रतिक्षामा रोगसँग लडिरहुनुभएका व्यक्ति त छटपटाउनुहुने थिएन । विरामीको मन्दिर, अस्पताल ठप्प पारेर सठकमा निस्केर कराउनु त पर्दैनथ्यो ।
आखिर राणा शासन फालियो, राजतन्त्र फालियो, के आज एकजना राष्ट्रप्रमुखको सवारीमा जनताले यत्रो दुःख पाउनलाई हो ? खास सुरक्षा जनतालाई चाहिने कि विशिष्ट व्यक्तिलाई ? यो प्रश्नको जवाफ हिजो प्रहरीको लाठिचार्जबाट घाइते हुनुभएका चिकित्सकलाई हेरौँ । महिला जो बलात्कृत हुन्छिन् अनि उनकोे हत्या गरिन्छ, यो घटनालाई हेरौँ । जो आर्थिक रुपले सुरक्षित महसुुस नगरेर आत्मदाह गरेका भर्खरैका घटना हेरौं । जो बर्षौदेखि आन्दोलन गरिरहेका ऊखु किसानलाई हेरौ । के उनीहरु सुरक्षित छन् ? यहाँ शरीरको सुरक्षाको कुरा होइन, पेटको सुरक्षा चाहिएको छ । यहाँ बालबच्चाको सुन्दर भविष्यको सुरक्षा चाहिएको छ ।
ऐनमै नभएको कुरा व्यवहारमा उतार्ने र ऐनमा भएको कुरा पनि व्यवहारमा नउतार्ने प्रवृति मात्र कम गरे पनि जनताले व्र्यथै दुःख पाउने थिएनन् । विशिष्ट व्यक्तिको सवारीमा सडकनै खाली गर्नुपर्ने विषय कहिँकतै उल्लेख छैन तर विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधिमानै नभएको सुरक्षा किन आवश्यक ? कि, (सडकमा समन्वय गरेर सुरक्षा व्यवस्थापन मिलाइने छ) भन्नुको अर्थ सडक नै खाली गर्ने र त्यहाँ कोही अत्यावश्यक काममा हिँडेको नागरिकलाई कुटपिट गर्नु भन्ने व्याख्यात्मक टिप्पणीको रुपमा बुझनुपर्ने ?
सम्मानित व्यक्तिलाई सम्मान दिनुपर्छ । र जनताले दिइरहेकै पनि हो तर जनतालाई दुःख दिएर होइन । आगामी दिनमा विशिष्ट व्यक्तिहरुको सुरक्षासम्बन्धी कार्यविधि बदलियोस् । तामझाम शैली परिवर्तन होस् । महत्वपूर्ण विषय भिआइपीको सवारीमा जनतालाई दुःख दिन बन्द गरौं । नभए प्रजातान्त्रिक व्यवस्थाको विकल्प खोज्न आम नागरिक तयार हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here