नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारत सम्बन्धलाई नयाँ आयाममा अघि बढाउन दुवै देशका सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाँले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशको बीचमा रहेका समस्या पनि हल गरिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भारतलाई पनि नेपालको अत्यन्तै ठूलो साथ र सहयोग रहेको उल्लेख गर्नुभयो ।
दुई देशबीच भएका समस्या समाधान गर्दा ‘कोही नहार्ने र कोही नजित्ने’ बाटो खोज्नुपर्ने सुझाव दिनुभयो ।
उपाध्यायले नेपाल र भारतबीच रहेको व्यापार घाटा कम गर्नेगरि काम गर्नुपर्ने जिकिर गर्नुभयो ।
साक्षात्कारमा नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको भन्दै आगामी दिनमा अझ यसलाई मजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
भट्टराईले दुई देशबीच कतिपय पूराना विषय वार्ताको टेबुलमा बसेर टुँगो लगाउनुपर्ने बताउनुभयो ।
दुई देशबीचका समस्या समाधानको लागि गठित इपिजीले प्रतिवेदन तयार पारेर बुझाउन खोज्दापनि भारतले नबुझेकोमा उहाले गुनासो गर्नुभयो ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले नेपाल र भारतबीच हजारौं वर्षको पूरानो सम्बन्ध रहेको उल्लेख गर्दै यो सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताउनुभयो ।
नेपालमा विजुली उत्पादन बढि भएर अब बजारको समस्या आइरहेको उहाँले बताउनुभयो ।