काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका निकटस्थ नेताहरूप्रति चौतर्फी आलोचना भएको छ ।
पत्नी आरजु राणा देउवा र केही विश्वास पात्रकै कारण कांग्रेसले सत्तामा सबै पद गुमाएको भन्दै सामाजिक सज्जालमा नेता कार्यकर्ताले देउवाको आलोचना गरेका हुन् ।
पार्टीका जिम्मेवार नेता कार्यकर्ताले नै देउवासहित आरजु राणा, डा. प्रकाशशरण महत, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, उहाँकी पत्नी मज्जु खाँण, नेताहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह र एनपी साउदसमेलाई लक्षित छरपष्ट गालीको वर्षा भएको छ ।
उनीहरूकै कारण देउवालाई उचालेर राज्यका सबै संरचनामा पार्टीलाई शून्यतातर्फ झारेको उनीहरूको आरोप छ । नेता गुरुराज घिमिरेले त पार्टी सभापति देउवाले संसदीय दलको नेता सभापतिबाटै नैतिकताका हिसाबले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
आम निर्वाचन २०७९ को सबै परिणाम आएपछि नयाँ सरकार गठनका लागि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेताबीच भएको चरणबद्ध छलफलमा आलोपालो प्रधानमन्त्री बन्दा पहिलो पालोमा को भन्ने विषयमा कुरा नमिल्दा कांग्रेसले सबै पद गुमाएको छ ।
खासगरी कांग्रेस सभापति देउवाले र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो पालो आफू नै प्रधानमन्त्री बन्नुपर्ने अडान राख्नुभएको थियो । प्रधानमन्त्री दिन नमान्दा आइतबार दाहाल एकाएक कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्न पुग्नुभयो र प्रधानमन्त्रीमा नियुक्त हुनुभयो ।