झापा । सरकारले आजदेखि देशभर वृक्षारोपण अभियान शुरु गरेसँगै झापाको बिर्तामोड नगरपालिका वडा नम्बर–३ मा रहेको पर्यटकीय क्षेत्र बिराटपोखर परिसरमा १७० वटा बिरुवा रोपिएको छ ।
सृजनशिल एकता बालक्लबको आयोजनामा जिल्ला बन कार्यलयले उपलब्ध गराएको ६ प्रजातिको बिरुवा रोपिएको हो । बिर्तामोड नगरपालिकाकी उपप्रमुख पबित्रा महतरा प्रसाइले बृक्षारोपण गर्दै कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उनले सरकारले थालनी गरेको एक नेपाली एक फलफूलको वृक्षारोपण अभियानलाई आत्मसात गर्दै समृद्ध समाज निर्माणमा लाग्न सबैलाई आग्रह गरिन् । बालबालिकालाई रचनात्मक बनाउन नगरपालिका सधै साथमा रहने उनले बताइन ।
कार्यक्रममा बिर्तामोडका उज्यालो मनकामना, उज्यालो दुर्गा, आदर्श, महेन्द्र रत्न, अक्फोड एकाडेमी, वातावरण संरक्षण मञ्च, दुर्गा बालक्लब लगाएत ७ वटा बालक्लबको सहभागीता रहेको थियो । कार्यक्रममा वडा सदस्य डि आर कडरिया, बिराटपोखर व्यवस्थापन समिती अध्यक्ष इन्द्र प्रसाईं, अभिभावक केशब मैनाली लगाएतको उपस्तिथि रहेको थियो ।
सृजनशिल एकता बालक्लबका अध्यक्ष मनिष न्यौपानेको अध्यक्ष्यतामा भएको कार्यक्रमको सञ्चालन बालक्लबकी सचिव श्रेया ढुंगानाले गरेकी थिइन् ।





