झापा । सहारा नेपाल साकोसको मुख्य प्रायोजनमा सूर्योदय टेलिभिजनद्वारा उत्पादित सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन ४ को उपाधि झापा मेरिगोल्ड अंग्रेजी मावि सुरुंगाकी छात्रा प्रिन्सा तिम्सिनाले हात पार्नुभएको छ ।
प्रतियोगिताको फस्र्ट रनरअपको उपाधि पशुपति आवासीय मावि उर्लाबारी मोरङकी छात्रा तृप्ती भण्डारीले हात पार्नुभएको छ भने सेकेन्ड रनरअपको उपाधि कनकाई मावि सुरुंगाकी छात्रा सरु मगरले जित्नुभएको छ । ग्रान्ड फिनालेमा पुग्नुभएका युनिसा तामाङ, सुम्निमा लिम्बु तथा अभय कोइरालालाई शान्तवना पुरस्कार प्रदान गरिएको छ । प्रथम हुने तिम्सिनाले नगद ३० हजार, दोस्रो हुने भण्डारीले नगद २० हजार र तेस्रो हुने मगरले नगद १० हजार प्राप्त गर्नुभयो ।
शान्त्वना पुरस्कार पाउने सबैले नगद ५ हजारका दरले प्राप्त गरेका छन् । गत असोज महिनामा शुरु भएको लिग राउन्ड हुँदै क्वाटर, सेमी तथा फिनालेसम्म आइपुग्न करिब तीन महिना लागेको थियो । लिग राउन्डमा १ सय ५० जना विद्यार्थीले सहभागिता जनाएका थिए भने फिनालेमा ६ जना विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो । विजेता तथा फिनालेका सहभागीहरूलाई सहारा साकोसका अध्यक्ष हरिबहादुर राजवंशी तथा सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले पुरस्कार वितरण गर्नुभएको थियो ।
सहारा नेपाल साकोसका अध्यक्ष राजवंशीले सहाराको सानो सहयोगले यो कार्यक्रम भव्य सम्पन्न भएकोमा सहारा साकोस सन्तुष्ट रहेको बताउनुभयो ।
सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले विजेता तथा उपविजेतालाई बधाई दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजकलगायत सबै प्रायोजक तथा कार्यक्रम निर्माणमा खटिने सबैमा आभार प्रकट गर्नुभयो ।
प्रतियोगिताको निर्णायकमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक सिरो सान्दाइ खतिवडा, सूर्योदय टेलिभिजनका प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती तथा प्रधान सम्पादक उमाकान्त खनाल रहनुभएको थियो । कार्यक्रमको संयोजन आशिष उप्रेतीले गर्नुभएको थियो ।