काठमाडौँ । सरकारले आजदेखि देशभर वृक्षारोपण अभियान शुरु गरेको छ ।हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गरेको सरकारले आगामी तीन वर्षभित्र ३ करोड बिरुवा रोप्ने योजना अघि सारेको हो ।
सरकारको एक नेपाली एक फलफूलको वृक्षारोपण अभियानलाई मूर्तरूप दिन वृक्षारोपण दिवसमार्फत फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्न लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकाको चक्रपथमा फलफूलका बिरुवा रोपेर अभियान आरम्भ गर्नु भएको छ ।सरकारले वृक्षारोपण कार्यक्रममा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई सरिक हुन निर्देशन दिएको छ ।यसैगरी प्रदेश तथा स्थानीय तह,समिति,संस्थान, विश्वविद्यालय,विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आआफ्नो कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न सरकारले पत्राचार गरेको छ ।





