काठमाडाैँ । एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन् ।
लगातार ३६ पटकसम्म फेल भएका डाक्टर पनि छन् । विश्वविद्यालयबाट हुने परीक्षा उत्तीर्ण भए पनि बिरामी जाँच्ने वैधानिकता लिन काउन्सिलले लिने लाइसेन्स परीक्षा पास हुनैपर्छ । काउन्सिल स्रोतका अनुसार फेल हुने अधिकांश बंगलादेशमा अध्ययन गरेर आएकाहरू छन् ।
काउन्सिलले भने १० पटकसम्म निरन्तर फेल भएपछि लाइसेन्स परीक्षामा सामेल नै हुन नपाउने नियम बनाएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ । तर, मन्त्रालयमा फाइल अड्किएको छ । यो नियम पास भयो भने १३ सयमध्ये सबैजसो डाक्टर लाइसेन्स परीक्षामा सहभागी हुन पाउँदैनन् ।
हाल पटक–पटक फेल भएका डाक्टरहरू लाइसेन्सको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय र शुक्रबार मेडिकल काउन्सिलमा ज्ञापनपत्रसमेत बुझाएका छन् । यो आन्दोलनको अगुवाइ डा. राम थापा क्षेत्रीले गरेका छन् । काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले बंगलादेश पढेर आएका क्षेत्री लाइसेन्स परीक्षामा नौपटकसम्म फेल भएको बताए । पत्रपत्रिकाबाट





