जितेन्द्र भण्डारी
पाँचथर । बसाईसराई जाने क्रम नरोकिएपछि सुख्खाग्रस्त जग्गामा निजी वन क्षेत्रलाई विस्तार गर्दे आयआर्जन गर्ने उद्धेश्यले पाँचथरको कम्मायक गाउँपालिका वडा नम्बर १ को यासोकमा नर्सरी स्थापना गरिएको छ ।
वडाको ६ लाख रुपैयाँ आर्थिक सहयोग तथा वन कार्यालय यासोकको प्राविधिक सहयोगमा नर्सरी स्थापना गरिएको हो । सुख्खाग्रस्त क्षेत्र भएकोले स्थानियहरु बसाईसर्ने क्रम नरोकिएको हुँदा निजी वनमा विभिन्न प्रजातिका विरुवा रोपेर निजी वन विस्तार गर्ने तथा आयआर्जन गर्ने उद्धेश्यले नर्सरी स्थापना गरिएको वडा अध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए ।
उहाँका अनुसार अहिले खयर, रङकाठ, रुद्राक्ष, कालोसिरीस, साज, तेजपात लगायतका ५० हजार वटा विरुवा रोपिएका छन् । एक जना कृषकलाई कम्तीमा १ सय वटा विरुवा दिने उनले बताए ।
गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङले यो काम अत्यन्तै सह्रानिय रहेको बताउँदै आगामी वर्ष पालिका स्तरीय यो कार्यक्रम लैजान सक्ने बताए ।
यस्तै वन डिभिजन कार्यालय प्रमुख राजकुमार राईले अब सबै पालिकाले स्थायी नर्सरी स्थापना गरेर जनतालाई विरुवा वितरण गर्न सके पालिका पनि हरियाली हुने र स्थानियको आयआर्जन समेत बढ्ने बताए ।





