एमालेले सुनसरी ३ ‘क’ मा अघि सार्यो युवा, सञ्चार उधमी समिर कार्की उम्मेदवार सिफारिस


१९ भाद्र २०७९, आईतवार १४:०४ मा प्रकाशित

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ढिलै भए पनि जनभावनाको कदर गर्दै गाउँ, सहर र बस्तीबाट युवा नेताहरुलाई अगाडि सार्ने रणनीति लिन थालेको छ ।

आसन्न मंसिर ४ को संघीय तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरीको क्षेत्र नं. ३ (क) बाट सञ्चार उद्यमी, सामाजिक अभियन्ता विष्णु (समिर) कार्कीको नाम उम्मेदवारमा सिफारिस भएको छ ।

त्यसो त सिनेमाको अध्ययन गरेर हिरो बन्ने सोख पाल्नुभएका कार्की सानै उमेरदेखि सामाजिक अभियान अन्तर्गत युवा लक्षित एरिना टेलिभिजनमार्फत सञ्चार क्षेत्रमा हाम फाल्नुभएको हो ।

उहाँले त्यसबेला कान्छो युवा सञ्चार उद्यमीको नामले परिचित पनि हुनुभएको हो । युवाहरुको नेतृत्व विकास, प्रतिभा प्रस्फुटनमा समेत उत्तिकै योगदान दिँदै आउनु भएका कार्की राजधानी सरोकार समाजका सहसंयोजक भएर इटहरीमा प्रदेशको राजधानी बनाउने अभियानमा पनि जुट्नु भएको हो ।

कार्कीले शिक्षा क्षेत्रको बृहत्तर विकासमा उत्तिकै चनाखो हुँदै सञ्चारकै क्षेत्रबाट विभिन्न गतिविधि गर्दै आउनु भएको छ । प्रतिभा बाकेर तर प्लेटफर्म नपाएर विभिन्न विद्यालयका नानीहरुको प्रतिभा जनमानसमा ल्याउन टेलिभिजनको स्टेज उपलब्ध गराउनेदेखि रियालिटी शोमार्फत उनीहरुको प्रतिभा प्रस्फुटनमा उहाँले योगदान पुर्याउनु भएको छ ।

उहाँले खेलकुदको क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिँदै इटहरी खेलकुद फाउण्डेशनको माध्यमबाट योगदान दिँदै आउनु भएको छ ।

उहाँ रात्रिकालिन क्रिकेट र फुटबल प्रतियोगिताको आयोजना गरेर सुनसरीमा छुट्टै पहिचान कायम गरेका व्यक्तित्व हुनुहुन्छ । सो सिफारिसमा लिलम बस्नेत र रोहितबहादुर कार्कीलाई समेत सिफारिस गरिएको संयोजक उमेश पौडेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here